बागमतीका मुख्यमन्त्री थापामगर आज विश्वासको मत लिँदै
२०८३ भाद्र ८, सोमबार ०७:३२
हेटौंडा, ८ भदौ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ अनुसार मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री थापामगरलाई समर्थन गरिरहेका नेकपा र नेकपा एमालेले आफ्ना प्रदेशसभा सदस्यलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिएका छन्। नेकपाले आफ्ना २६ जना प्रदेशसभा सदस्यका लागि ह्विप जारी गरेको छ।
यता सरकार गठनमा समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विवाद चर्किएको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।
तर सरकारमा सहभागी राप्रपाका मन्त्री पक्षले भने तामाङलाई यसअघि नै प्रमुख सचेतकको जिम्मेवारीबाट हटाइएको दाबी गरेको छ। यसअघि राप्रपाले पार्टीको केन्द्रीय निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरेको थियो।
सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधिसकेको छ।
अब मुख्यमन्त्री थापामगरले विश्वासको मत पाउने वा नपाउने विषयमा राप्रपाका १२ प्रदेशसभा सदस्यको भूमिका निर्णायक बन्न सक्ने देखिएको छ। प्रदेशसभामा हुने मतदानअघि राप्रपाभित्रको विवाद र सांसदहरूको उपस्थिति तथा मतदानप्रति राजनीतिक वृत्तको विशेष चासो देखिएको छ।




