जोगबनी नाका ठप्प हुँदा विराटनगरको व्यापार र राजस्वमा प्रत्यक्ष असर
२०८३ भाद्र ९, मंगलवार १५:००
विराटनगर । भारतीय सीमावर्ती जोगबनी नाका दुई दिनदेखि ठप्प हुँदा नेपाल–भारत सीमापार व्यापार प्रभावित भएको छ। जोगबनी भन्सारका एजेन्टहरू आन्दोलनमा उत्रिएपछि औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान बोकेका सयौँ ट्रक र कन्टेनर भारतीय सडकमा रोकिएका छन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट भन्सार एजेन्टलाई आवतजावतमा अवरोध गरिएको तथा ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) ले अव्यवस्थित पार्किङ र डिटेन्सन शुल्कका नाममा समस्या सिर्जना गरेको आरोप लगाउँदै एजेन्टहरूले सोमबारदेखि ‘पेन डाउन’ गरेका हुन्।
नाका बन्द भएपछि विराटनगरतर्फ आउने करिब ६०० भन्दा बढी मालवाहक ट्रक तथा कन्टेनर भारतीय भूभागमै रोकिएका छन्। सामान्य अवस्थामा जोगबनी नाकाबाट दैनिक ३५० देखि ४०० सम्म मालवाहक सवारी नेपाल प्रवेश गर्ने गरेका छन्।
यसको प्रत्यक्ष प्रभाव विराटनगर भन्सारको राजस्व संकलनमा परेको छ। विराटनगर भन्सारले दैनिक औसत १२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भए पनि नाकाबाट सामान प्रवेश नगर्दा मंगलबार राजस्व संकलन शून्यमा झरेको छ।
विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार आइतबार नेपाल प्रवेश गरेका सामानबाट सोमबार करिब ९ करोड रुपैयाँ राजस्व उठेको थियो। तर मंगलबार जोगबनीबाट कुनै पनि मालवाहक ट्रक वा कन्टेनर प्रवेश नगरेपछि राजस्व संकलन हुन सकेन।
भन्सार एजेन्टहरूका अनुसार सर्भर डाउन भएको भन्दै भन्सारको काम प्रभावित हुने, लोड भएका गाडीलाई लामो समयसम्म पार्किङमा राख्न बाध्य पारिने र त्यसबापत डिटेन्सन शुल्क असुल्ने समस्या दोहोरिँदै आएको छ।
नाका अवरुद्ध हुँदा उद्योगका लागि आवश्यक कच्चा पदार्थदेखि व्यापारिक सामग्रीसम्मको आपूर्ति प्रभावित भएको छ। आन्दोलन तत्काल समाधान नभए विराटनगर क्षेत्रका उद्योग, व्यवसाय र राजस्व संकलनमा थप दबाब पर्न सक्ने देखिएको छ।




