काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर शाह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार सुडीले आफ्नो वैधानिक आम्दानीभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी सम्पत्ति जोडेको देखिएको छ।

अनुसन्धानका क्रममा २०४२ साल वैशाख १६ देखि २०८१ जेठ मसान्तसम्म सुडीको वैधानिक आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा रहेको पाइएको छ। तर सोही अवधिमा उनको खर्च तथा विभिन्न क्षेत्रमा भएको लगानी ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा पुगेको अख्तियारले जनाएको छ।

वैधानिक आम्दानीको तुलनामा अत्यधिक खर्च तथा लगानी देखिए पनि त्यसको स्रोत खुलाउन नसकेपछि अख्तियारले उक्त रकमलाई गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति मानेर मुद्दा अघि बढाएको हो।

अख्तियारका अनुसार सुडीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको केही हिस्सा आफ्नी श्रीमती सुमित्रादेवी शाहको नाममा समेत राखेको भेटिएको छ। सोही कारण सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमतीलाई समेत प्रतिवादी बनाइएको छ।

सुडीले २०४६ वैशाख १६ गते अमिन पदबाट अस्थायी नियुक्ति लिएर सरकारी सेवामा प्रवेश गरेका थिए। लामो समय सार्वजनिक सेवामा रहेका उनीविरुद्ध अस्वाभाविक रूपमा सम्पत्ति जोडेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियारले अनुसन्धानबाट पुष्टि भएको गैरकानूनी सम्पत्ति तथा त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।