काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत दुई सयभन्दा बढी नेपाली तथा विदेशी कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कार्यरत ११ जना सम्पर्कविहीन छन्। तीमध्ये ८ जना दक्षिण कोरियाली नागरिक रहेको बताइएको छ।

त्यस्तै, आयोजनाका परामर्शदाता जेड कन्सल्ट तथा लामा जेभियर्स जेभीमा कार्यरत ७ जना पनि सम्पर्कविहीन छन्।

रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ५१ जनाको अवस्था अझै अज्ञात रहेको इप्पानले जनाएको छ। टिमुरेमा कार्यरत तीन जना भने अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका छन्।

मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत ८ जना कर्मचारीसँग बुधबारदेखि सम्पर्क हुन सकेको छैन। त्यस्तै, सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रोका दुई जना पनि हराइरहेका छन्। पाँच जना भने नजिकैको गाउँमा आश्रय लिएर उद्धारको पर्खाइमा रहेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक छन्।

यसैगरी, बुधबार सुरुङभित्र थुनिएर सम्पर्कविहीन भएका ६० जनासँग पनि अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको इप्पानले जनाएको छ।

लगातारको बाढी, पहिरो र सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ। सम्पर्कविहीन भएकाहरूको वास्तविक अवस्था पत्ता लगाउन तत्काल खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने देखिएको छ।