रवि लामिछानेसँग चिनियाँ राजदूत माओमिङको भेट, भोटेकोशी बाढीप्रति दुःख व्यक्त

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत माओमिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई खोज, उद्धारदेखि पुनर्निर्माणसम्म आवश्यक सहयोग गर्न चीन तयार रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार बूढानीलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत माओमिङले विपद्का बेला चीनले नेपाललाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएका हुन्।

भेटमा उनले भोटेकोशी बाढीपछि चीनले उद्धारकर्मी, डीएनए विज्ञलगायत आवश्यक जनशक्ति तथा स्रोतसाधन उपलब्ध गराउँदै आएको जानकारी दिए। आवश्यकता रहेसम्म यस्तो सहयोगलाई निरन्तरता दिने उनको भनाइ थियो।

राजदूत माओमिङले विपद् पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको पनि बताएका छन्। नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र समन्वयात्मक बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

लामिछानेले विपद्को समयमा चीनले उपलब्ध गराउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

उनले पूर्वसूचना प्रणालीमा प्रविधि, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालमा विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली र उद्धार क्षमताबारे पुनः बहस सुरु भएको छ। पछिल्लो विपद्ले जोखिमको पूर्वानुमान, सूचना प्रवाह र समयमै उद्धारका लागि राज्यका संयन्त्रबीच प्रभावकारी समन्वयको आवश्यकता अझ स्पष्ट पारेको छ।

चीनले नेपाललाई विपद् व्यवस्थापनमा प्राविधिक तथा मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता जनाएसँगै आगामी दिनमा पूर्वसूचना प्रणालीको विकास र विपद् प्रतिकार्यमा दुई देशबीचको सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।