काठमाडौं । चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका बन्द भएपछि नेपालले मुस्ताङको कोरला नाकामार्फत आयात बढाउनुपर्ने भएको छ।

भोटेकोशीमा आएको बाढीपछि रसुवा नाका अनिश्चितकालका लागि बन्द छ। त्यसपछि चीनले तातोपानी नाका पनि बन्द गर्ने घोषणा गरेपछि उत्तरी नाकाबाट हुने व्यापार प्रभावित भएको हो।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष चीनबाट नेपालले ४ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको थियो। रसुवा, तातोपानी र मुस्ताङ नाकाबाट मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको आयात भएको थियो।

व्यवसायीका अनुसार कोरला हुँदै काठमाडौं सामान ल्याउँदा रसुवा वा तातोपानीभन्दा करिब १५ घण्टा बढी लाग्छ। मुस्ताङतर्फको करिब ३० किलोमिटर सडक कमजोर रहेकाले ढुवानी लागत र समय थप बढ्ने जोखिम छ।

कोरला नाकासम्मको सडक अधिकांश ठाउँमा सहज भए पनि तीनवटा बेलिब्रिजको क्षमता १८ टन मात्र रहेकाले ठूला मालवाहक सवारी सञ्चालनमा समस्या हुन सक्ने अधिकारीहरूले बताएका छन्।

त्यसमाथि पृथ्वीराजमार्गको कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि कोरलाबाट आउने मालवाहक सवारीले वैकल्पिक रूपमा नारायणगढ–हेटौँडा सडक प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला अहिले चीनसँगको स्थल व्यापारका लागि प्रमुख वैकल्पिक नाका बनेको छ।