५५ वर्षे अवकाशको प्रस्तावबीच झापाका सीडीओ गेलालले दिए राजीनामा
२०८३ भाद्र १७, बुधबार १७:३०
झापा । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदबाट राजीनामा दिएका छन्। उनले दुई दिनअघि काठमाडौं पुगेर गृहसचिवसमक्ष राजीनामा बुझाएका हुन्।
गेलालको राजीनामा भोलिदेखि लागू हुनेछ। राजीनामा बुझाएर झापा फर्किएका उनलाई जिल्ला प्रशासन कार्यालयले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ।
सरकारले संघीय निजामती सेवामा कार्यरत कर्मचारीको संख्या घटाउने उद्देश्यसहित ५५ वर्ष उमेरमै अनिवार्य अवकाश दिने प्रस्ताव अघि बढाइरहेका बेला गेलालले राजीनामा दिएको बताइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा विधेयकको मस्यौदा अहिले कानुन मन्त्रालयमा रायका लागि पठाइएको छ। मस्यौदामा ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ।
सरकारको यो प्रस्ताव कार्यान्वयन भएमा २०२८ सालअघि जन्मिएका र हाल निजामती सेवामा कार्यरत कर्मचारीहरू ठूलो संख्यामा सेवाबाट बाहिरिने अवस्था आउनेछ।
लामो समय निजामती सेवामा काम गरेका गेलालको राजीनामालाई प्रस्तावित अवकाश नीतिसँग जोडेर हेरिएको छ। यद्यपि, उनले राजीनामाको कारणबारे सार्वजनिक रूपमा विस्तृत धारणा भने दिएका छैनन्।
गेलालको राजीनामासँगै सरकारले अघि सारेको प्रस्तावित ५५ वर्षे अनिवार्य अवकाशको व्यवस्था निजामती वृत्तमा थप बहसको विषय बनेको छ।




