पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा
२०८३ भाद्र १७, बुधबार १८:३५
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा नियुक्त भएका छन्। विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारीसहित सरकारले उनलाई रजिस्ट्रार पदमा नियुक्त गरेको हो।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा पूर्वाञ्चलसहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेका हुन्।
नियुक्तिअनुसार पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, त्रिभुवन विश्वविद्यालयमा प्रा. रवीन्द्र शिवाकोटी, पोखरा विश्वविद्यालयमा प्राडा निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्राडा तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक डा. सुदीप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।
विश्वविद्यालयको रजिस्ट्रार शैक्षिक प्रशासन, आर्थिक व्यवस्थापन तथा संस्थागत सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रहने पद हो। त्यसैले नयाँ नेतृत्वबाट विश्वविद्यालयको प्रशासनिक दक्षता, शैक्षिक वातावरण र संस्थागत सुशासनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
नवनियुक्त रजिस्ट्रारहरूले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।




