काठमाडौं । देश विपद्को सामना गरिरहेका बेला राष्ट्रिय राजनीति पनि सहकार्य र सहमतितर्फ केन्द्रित हुनुपर्ने धारणा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राखेका छन्।

बिहीबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले पछिल्लो सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे पार्टीलाई जानकारी गराउँदै संकटको समयमा राजनीतिक मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले सर्वदलीय बैठकमा सहभागी दल तथा नेताहरूले व्यक्त गरेको ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरेका थिए।

उनको जोड थियो, विपद्को समयमा राजनीतिक ध्रुवीकरण होइन, राष्ट्रिय सहमति र साझा जिम्मेवारी आवश्यक छ।

लामिछानेले सरकार, राजनीतिक दल र राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय कायम गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने संकेत गरेका छन्।