काठमाडौं, भदौ १८ । भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिँदै सरकारले व्यवसाय पुनरुत्थानका लागि विशेष प्याकेज घोषणा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएका वा बगाएका व्यावसायिक सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी सोही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार महसुल पूर्ण रूपमा छुट दिइनेछ।

त्यस्तै, बाढीबाट मर्मत गर्न नसकिने गरी नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनः आयात गर्दा पनि नष्ट भएको परिमाणको सीमाभित्र भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ।

बाढीका कारण आयातित सामान गन्तव्यमा पुग्नुअघि नै नष्ट भएको अवस्थामा भने पहिले तिरिएको भन्सार महसुल बराबरको रकम ६ महिनाभित्र सोही प्रकृतिको वस्तु पुनः आयात गर्दा समायोजन गर्न पाइनेछ।

सरकारले यो प्याकेजमार्फत बाढीबाट ठूलो क्षति व्यहोरेका व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न सहज बनाउने लक्ष्य लिएको जनाएको छ।