एभरेष्ट भ्यू ट्रेल रेसले पायो अन्तर्राष्ट्रिय पहिचान, आईटीआरएबाट ३ अंक
२०८३ भाद्र २३, मंगलवार २२:०४
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) ले प्रतियोगितालाई आफ्नो प्रणालीमा सूचीकृत गर्दै ३ पोइन्ट प्रदान गरेको हो।
अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रणालीमा समावेश भएसँगै एभरेष्ट भ्यू ट्रेल रेसले नेपालका हिमाली पदमार्गलाई विश्वका ट्रेल धावकहरूसँग जोड्ने नयाँ बाटो खोलेको गाउँपालिकाको विश्वास छ।
गाउँपालिकाले आगामी ३ डिसेम्बर २०२६ मा ४८ किलोमिटर दूरीको तेस्रो संस्करण आयोजना गर्दैछ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि प्रतियोगितामा स्वदेशी मात्र होइन, विदेशी धावकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
आईटीआरएले ट्रेल रेसको दूरी, मार्गको कठिनाइ, उचाइ तथा अन्य प्राविधिक मापदण्डका आधारमा पोइन्ट निर्धारण गर्छ। ३ पोइन्ट प्राप्त गर्नु प्रतियोगिता अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रणालीसँग औपचारिक रूपमा जोडिएको महत्वपूर्ण उपलब्धि मानिएको छ।
हिमाली पदमार्गमा ४८ किलोमिटर दौड
प्रतियोगिता कोर्कु रंगशालाबाट सुरु भएर सिलगुढी डाँडा, घुम्नेमेरा, कुधम, योतल्म्य र दिलुङ हुँदै पुनः कोर्कु रंगशालामै पुगेर सम्पन्न हुनेछ।
आयोजकका अनुसार यस संस्करणमा ३०० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ। महिला र पुरुषतर्फका विजेताले जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
हिमाली भूगोल, उकाली–ओराली, प्राकृतिक पदमार्ग, स्थानीय बस्ती र मौलिक संस्कृतिलाई समेट्ने भएकाले यो प्रतियोगिता केवल खेलकुद कार्यक्रम नभई साहसिक पर्यटनको माध्यम बन्ने अपेक्षा गरिएको छ।
दौडसँगै स्थानीय अर्थतन्त्रलाई गति दिने लक्ष्य
गाउँपालिकाले अन्तर्राष्ट्रिय धावकको आगमनसँगै स्थानीय होटल, होमस्टे, यातायात, गाइड तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरेको छ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईका अनुसार प्रतियोगितालाई नियमित अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्दै माप्य दुधकोशीलाई खेलकुद र साहसिक पर्यटनको नयाँ गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको छ।
एभरेष्ट भ्यू ट्रेल रेसले पाएको आईटीआरए पोइन्टलाई गाउँपालिकाले एउटा प्रतियोगिताको उपलब्धिभन्दा माथि उठेर माप्य दुधकोशीको प्राकृतिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने सुरुवाती खुड्किलोका रूपमा लिएको छ।




