भारतमा जोखिममा परेका १५ नेपाली बालबालिका उद्धार, परिवारसँग पुनर्मिलनको तयारी
२०८३ भाद्र २३, मंगलवार २२:१५
रुपन्देही । भारतका विभिन्न शहरमा जोखिमपूर्ण अवस्थामा रहेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार गरी नेपाल ल्याइएको छ।
महाराष्ट्र, दिल्ली, झारखण्ड, बिहार र मध्यप्रदेशलगायत स्थानबाट उद्धार गरिएका उनीहरूलाई मंगलबार राति नेपालगन्ज नाका हुँदै रुपन्देही ल्याइएको हो। नेपाली दूतावासको समन्वयमा भारतस्थित बाल संरक्षण तथा मानव बेचबिखनविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ ले भारतीय प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जनाएको छ।
संस्थाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका र तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उनीहरूमध्ये पाँच जना बालिका तथा किशोरी छन्।
उद्धार गरिएका बालबालिकामध्ये केहीलाई मदरसामा पढाउने भन्दै अनधिकृत रूपमा भारत लगिएको पाइएको छ। महाराष्ट्रको जलान जिल्लामा रहेका महोत्तरीको सम्सी गाउँपालिकाका ६ जना नाबालकलाई स्थानीय प्रहरीसँगको समन्वयमा उद्धार गरिएको जोशीले बताए।
त्यस्तै, झापा, पर्सा र कञ्चनपुरका दुई किशोरी तथा एक नाबालकलाई दिल्लीबाट उद्धार गरिएको छ। उनीहरू घरायसी हिंसा र पारिवारिक विवादका कारण भारत पुगेका थिए।
पाल्पा र अछामका दुई नाबालकलाई मध्यप्रदेशबाट उद्धार गरिएको छ। पारिवारिक विग्रहका कारण उनीहरू भारत पुगेको बताइएको छ। पश्चिम नवलपरासीकी एक नाबालिकालाई झारखण्डबाट उद्धार गरिएको थियो। उनी पारिवारिक यौन हिंसाबाट प्रभावित रहेको बताइएको छ।
रौतहट र सिरहाका दुई नाबालिका तथा एक नाबालकलाई बिहारबाट उद्धार गरिएको हो।
जोशीका अनुसार केही बालबालिका दिल्लीका रेल्वे स्टेशनमा अलपत्र अवस्थामा भेटिएका थिए भने केही बालिका तथा किशोरी घरेलु हिंसा सहन नसकेर घरबाट बाहिरिएका थिए।
उद्धारपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो। अहिले सुरक्षित रूपमा नेपाल ल्याइएपछि परिवार तथा आफन्तको पहिचान र आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई पुनर्मिलन गराउने तयारी भइरहेको छ।
बालबालिकालाई नेपाल ल्याउने क्रममा ‘किन इन्डिया’का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लसमेत सहभागी थिए।
यो घटनाले रोजगारी, शिक्षा वा अन्य प्रलोभनमा बालबालिकालाई भारत लैजाने जोखिमसँगै परिवारभित्रको हिंसा र असुरक्षाले समेत बालबालिकालाई सीमापारि जोखिमपूर्ण अवस्थामा पुग्न बाध्य बनाइरहेको तथ्य उजागर गरेको छ।




