वडा तहबाटै सुरु हुन्छ नेतृत्व छनोट, युवा र समावेशी प्रतिनिधित्वमा नयाँ व्यवस्था

समाचार विश्लेषण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया वडा अधिवेशनबाट औपचारिक रूपमा अघि बढेको छ। असोज ३ र ४ गते स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन, असोज ७ गते गाउँ–नगर अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ।

यसपटकको महाधिवेशनमा नेतृत्व चयनको गणित अघिल्ला अधिवेशनभन्दा केही फरक देखिन्छ। विशेष महाधिवेशनपछि संशोधित विधानले केन्द्रीयदेखि वडा तहसम्म प्रतिनिधित्वको संरचना र संख्यामा परिवर्तन गरेको छ।

वडा तहमा नेतृत्व र प्रतिनिधि

वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्ने व्यवस्था छ। गाउँपालिकाको वडामा कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिको एक युवासहित सात जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।

वडा कार्यसमितिमा समावेशी प्रतिनिधित्व कायम गर्न सभापतिले थप सदस्य मनोनयन गर्न सक्ने व्यवस्था पनि छ। गाउँपालिकाको हकमा वडा सभापतिले पाँच जनासम्म सदस्य मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ।

यसरी हेर्दा वडा कार्यसमितिको संरचना निर्वाचनबाट आउने सदस्यमा मात्र सीमित हुँदैन। महिला, युवा, दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य समुदायको प्रतिनिधित्वलाई मनोनयन प्रक्रियाबाट समेत सम्बोधन गर्ने वैधानिक व्यवस्था छ।

क्षेत्रीय प्रतिनिधिमा नयाँ गणित

महाधिवेशनको अर्को महत्वपूर्ण चरण क्षेत्रीय प्रतिनिधि चयन हो। १५० वा त्यसभन्दा कम क्रियाशील सदस्य रहेको वडाबाट नौ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ।

यसमा कम्तीमा तीन महिला, एक श्रमिक वा पेशागत क्षेत्रको प्रतिनिधित्व र ३० वर्ष नपुगेका एक महिलासहित तीन युवा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था उल्लेख छ।

१५० भन्दा बढी क्रियाशील सदस्य रहेको वडामा प्रत्येक थप १५० सदस्य बराबर थप प्रतिनिधिको व्यवस्था छ। तर थप प्रतिनिधिको कुल संख्या ५५ भन्दा बढी नहुने सीमा राखिएको छ।

त्यसैगरी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था पनि विधानमा छ। अपाङ्गता भएका र दलित क्रियाशील सदस्यबाट एक–एक जना प्रतिनिधिको व्यवस्था छुट्टै गरिएको छ।

यसको अर्थ वडा अधिवेशन केवल वडा सभापति चयन गर्ने प्रक्रिया होइन। यही तहबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुने भएकाले आगामी क्षेत्रीय तथा केन्द्रीय नेतृत्वको संरचनामा समेत यसको प्रत्यक्ष प्रभाव पर्छ।

वडा सभापतिका लागि छुट्टै योग्यता छैन

यसपटक चर्चामा रहेको विषय वडा सभापतिको उम्मेदवारी योग्यता पनि हो। संशोधित विधानमा वडा सभापतिको उम्मेदवार बन्न कति वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने भन्ने छुट्टै न्यूनतम अवधि तोकिएको देखिँदैन।

यसअघिको व्यवस्थामा क्रियाशील सदस्यता प्राप्त गरेको कम्तीमा एक वर्ष पुगेको हुनुपर्ने प्रावधान थियो। संशोधित विधानमा भने वडा सभापतिका लागि त्यस्तो स्पष्ट अवधि राखिएको छैन।

तर गाउँपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला तहका केही पदाधिकारी तथा माथिल्ला तहका उम्मेदवारका लागि निर्वाचन निर्देशिकाले क्रियाशील सदस्यताको अवधि तोकेको छ।

निर्देशिकाअनुसार कतिपय पदमा पाँच वर्ष र जिल्ला सभापति, प्रदेश सभापति तथा केन्द्रीय सदस्यलगायतका लागि १० वर्षसम्मको क्रियाशील सदस्यताको मापदण्ड राखिएको छ। युवा, समायोजनबाट आएका तथा पेशागत–श्रमिक क्षेत्रका सदस्यका लागि भने छुट्टै व्यवस्था गरिएको उल्लेख छ।

केन्द्रमा २३२ सदस्यीय संरचना

१५औँ महाधिवेशनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने संशोधित विधानको व्यवस्था छ। तीमध्ये १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना केन्द्रीय सभापतिबाट मनोनयन हुनेछन्।

सहमहामन्त्रीको संख्या पनि ११ पुर्‍याइएको छ। आठ जना सम्बन्धित समावेशी समूहबाट निर्वाचित हुने र तीन जना सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी विभिन्न पेशा, व्यवसाय तथा विषयगत क्षेत्रमा सक्रिय रही विशेष प्रवेशमार्फत कांग्रेसमा आबद्ध भएका महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थपिएको छ।

युवाका लागि पनि नयाँ संरचना बनाइएको छ। ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशमा एक महिलासहित दुई जना र खुलाबाट सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिमध्येबाट पनि छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

अब वडा अधिवेशनको महत्व अझ बढ्यो

कांग्रेसको महाधिवेशनलाई केवल केन्द्रमा नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा हेर्दा यसको वास्तविक संरचना बुझिँदैन। नेतृत्व चयनको पहिलो आधार वडा अधिवेशन नै हो।

वडाबाट निर्वाचित हुने सभापति, सदस्य र क्षेत्रीय प्रतिनिधिको संरचनाले क्रमशः गाउँ–नगर, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्र र अन्ततः केन्द्रीय महाधिवेशनको प्रतिनिधित्व निर्धारण गर्छ।

त्यसैले यसपटकको वडा अधिवेशनमा क्रियाशील सदस्यको संख्या मात्र होइन, महिला, युवा, दलित, पेशागत तथा समावेशी प्रतिनिधित्वको वैधानिक संरचना पनि महत्वपूर्ण बन्ने देखिन्छ।

विशेष महाधिवेशनपछि संशोधित विधान र १५औँ महाधिवेशन निर्वाचन निर्देशिकाले बनाएको नयाँ संरचनाको वास्तविक परीक्षण भने अब वडा अधिवेशनबाटै सुरु हुनेछ।