असोज १० मा मौसमको जोखिम उच्च हुन सक्छ, लामो यात्रा रोक्न मौसमविद्को सुझाव
२०८३ आश्विन ४, आईतवार १२:०२
काठमाडौं । आगामी असोज ८ देखि ११ गतेसम्म नेपालमा भारीदेखि भीषण वर्षाको जोखिम देखिएको मौसमविद्हरूले बताएका छन्। विशेषगरी असोज १० गते मौसमजन्य जोखिम सबैभन्दा उच्च हुनसक्ने अनुमान गरिएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातसँगै अन्य मौसमी प्रणाली पनि सक्रिय हुने भएकाले नेपालमा वर्षाको अवस्था गम्भीर बन्न सक्ने देखिएको छ।
उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलहरूले आगामी दिनमा ठूलो वर्षाको संकेत गरेको भन्दै उपाध्यायले सुदूरपश्चिमबाहेक अन्य क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्न सुझाव दिएका छन्।
उनका अनुसार अहिलेको मौसमी अवस्थालाई सामान्य रूपमा लिनुभन्दा सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी गर्नु आवश्यक छ। लगातारको वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधजस्ता समस्या निम्तिन सक्ने भएकाले यात्रामा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
यसअघि २०८२ कात्तिकमा आएको शक्तिशाली ‘मोन्था’ चक्रवातले भारतको पूर्वी समुद्री तटमा ठूलो क्षति पुर्याएको थियो। तर नेपाल प्रवेश गर्ने क्रममा कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भएपछि नेपालमा भने अनुमान गरिएभन्दा कम क्षति भएको थियो।
तर यसपटक असोज १० आसपास देखिएको मौसमी प्रणालीलाई लिएर विभिन्न पूर्वानुमान मोडेलहरूले उच्च जोखिम देखाएकाले यात्रा, विपद् व्यवस्थापन र स्थानीय तहले समयमै सावधानी अपनाउनुपर्ने मौसमविद्को सुझाव छ।




