काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ। अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाका विभिन्न वडामा सोमबार अधिवेशन गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा नवलपरासी (परासी) क्षेत्र नम्बर २ अन्तर्गत बाँकी रहेका वडामा अधिवेशन हुनेछ।

कांग्रेसले आइतबारसम्म देशभरका ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ। गत १ असोजदेखि सुरु भएको वडा अधिवेशन अब बाँकी रहेका वडातर्फ केन्द्रित भएको हो।

तर, प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन। ती जिल्लामा बाढीका कारण अधिवेशन प्रभावित भएको कांग्रेसले जनाएको छ।

वडा अधिवेशनसँगै कांग्रेसको तल्लो तहदेखि नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र बनेको छ। वडा तहमा नयाँ नेतृत्व चयन भएपछि क्रमशः गाउँपालिका/नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै प्रदेश र केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढ्नेछ।

यसपटकको वडा अधिवेशनलाई कांग्रेसभित्र संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र स्थानीय तहमा नेतृत्वको प्रभाव परीक्षण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। बाँकी वडाको अधिवेशन सम्पन्न भएपछि महाधिवेशनको आगामी कार्यतालिका थप स्पष्ट हुने अपेक्षा गरिएको छ।