बीपी राजमार्गमा चार दिन राति सवारी बन्द
२०८३ आश्विन ७, बुधबार २०:१७
सिन्धुली । बाढीपहिरोको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा असोज ८ देखि ११ गतेसम्म राति सवारी आवागमन बन्द गरिने भएको छ।
मनसुन प्रतिकार्य कमाण्डपोष्ट काभ्रेपलाञ्चोकको निर्णयअनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा यातायात सञ्चालन गर्न पाइने छैन। जोखिम थप बढे दिउँसोसमेत सवारी रोक्न सकिने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार विगतको बाढीपहिरोबाट राजमार्गका विभिन्न क्षेत्रमा क्षति पुगेकाले सम्भावित दुर्घटना रोक्न पूर्वसावधानी अपनाइएको हो।
सिन्धुली र भक्तपुर प्रशासनसँग समन्वय गरी निर्णय कार्यान्वयन गरिनेछ। नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रवाह गर्न तथा आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्न स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।




