नारायणी पुलमा ठूला सवारी रोकिए, नदीको सतह खतराभन्दा झन्डै ३ मिटर माथि
२०८३ आश्विन ११, आईतवार २०:२५
नवलपुर । नारायणी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुलमा ठूला सवारीसाधनको आवागमन रोकिएको छ।
पुल पुरानो हुनुका साथै नदीमा पानीको सतह बढेपछि पुल अत्यधिक हल्लिन थालेकाले सम्भावित दुर्घटना रोक्न प्रहरीले सवारी आवागमनमा नियन्त्रण गरेको हो। केही समय पुल पूर्ण रूपमा बन्द गरिए पनि अहिले मोटरसाइकललाई भने सावधानीपूर्वक आवागमन गर्न दिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीलाई गैँडाकोटमै रोकिएको छ। चितवनबाट नवलपुरतर्फ आउने ठूला तथा अन्य सवारीसाधनलाई नारायणघाट क्षेत्रमा रोकिएको छ।
प्रहरीले पुलमाथि सवारीसाधन रोकेर बस्न तथा पैदलयात्रीलाई फोटो, भिडियो लगायतका सामग्री खिच्नसमेत रोक लगाएको छ। जोखिमपूर्ण अवस्थामा पुलमा अनावश्यक भीड हुन नदिन यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीको पानीको सतह ११.९१ मिटर पुगेको थियो। नदीमा ७.३ मिटर पानीको सतहलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ। पछिल्लो मापनअनुसार नदीको सतह खतराको तहभन्दा करिब २.९१ मिटर माथि पुगेको हो।
जलमापन केन्द्रले नदीको बहाव अझै बढ्ने क्रममा रहेको जनाएको छ। यससँगै नारायणी नदी आसपासका तटीय क्षेत्रमा जोखिम थप बढेको छ।
नदीमा आएको बाढीका कारण गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका नदी तटीय बस्तीमा डुबानको अवस्था देखिएको छ।
प्रहरीका अनुसार नदीको बहाव घटेर पुलमा आवागमन सुरक्षित हुने अवस्था बनेपछि ठूला सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाइनेछ।




