विराटनगर कांग्रेसको नेतृत्वका लागि कार्की–गिरी आमनेसामने,बुढीगंगामा भाेलि चुनाव
२०८३ आश्विन ११, आईतवार २०:३१
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयनका लागि कृष्णबहादुर कार्की र केशव गिरीबीच प्रतिस्पर्धा हुने भएको छ। नगर सभापति पदमा दुवै जनाले उम्मेदवारी दर्ता गराएपछि नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा निश्चित भएको हो।
नगर सभापतिसँगै उपसभापति पदमा पनि उम्मेदवारी परेको छ। उपसभापति पदका लागि शुभाषिस कोइरालाको उम्मेदवारी परेको छ भने महिला उपसभापतिका लागि श्रुती शर्मा र कृष्णकुमारी साह प्रतिस्पर्धामा छन्।
श्रुती शर्माको प्रस्तावकमा गौरव भट्टराई र समर्थकमा अभिषेक भट्टराई रहेका छन्।
नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बूका अनुसार विराटनगर महानगरको नयाँ कार्यसमिति चयनका लागि पर्सि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।
भाेली बुढीगंगा गाउँ पालिकामा भाेली विहान देखि साेम काफ्ले र दिलिप चाैधरी विच प्रतिस्पर्धा हुनेछ ।
मोरङका अधिकांश पालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ। केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतिपयमा निर्वाचनमार्फत नेतृत्व टुंगिएको हो।
हाल सुन्दरहरैँचा नगरपालिका र बूढीगङ्गा गाउँपालिकामा भने नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी रहेको जिल्ला सभापति लिम्बूले बताएका छन्।
विराटनगर महानगरको निर्वाचनलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुई उम्मेदवारबीचको प्रतिस्पर्धाले नगरका विभिन्न वडा र समूहमा रहेको संगठनात्मक प्रभावलाई समेत परीक्षण गर्नेछ।
अबको मुख्य चासो भनेको कुन उम्मेदवारले आफ्नो पक्षमा बढी प्रतिनिधि र समूहको समर्थन जुटाउन सक्छ भन्नेमा केन्द्रित भएको छ। सभापति , उपसभापति र अन्य पदमा बनेका समीकरणले पनि सभापतिको निर्वाचनमा प्रभाव पार्न सक्ने देखिन्छ।




