काठमाडौं, असोज १२ । बाढीपहिरोका कारण मुलुकका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा करिब ६२० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीबाट मात्रै ४३० मेगावाट र पछिल्लो वर्षाबाट थप १९० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो। केही आयोजना मर्मतपछि सञ्चालनमा आए पनि धेरै संरचनाको मर्मत जारी छ।

बाढीले प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा प्रारम्भिक अनुमानअनुसार करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हब तथा कालीगण्डकी करिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले क्षतिग्रस्त संरचना मर्मत गरी विद्युत् आपूर्ति नियमित गर्ने काम भइरहेको जनाएको छ। आगामी सुखायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ भने माग धान्न भारतबाट समेत विद्युत् आयात गर्ने तयारी गरिएको छ।