सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब एक सय किलो पहेँलो धातु तस्करी गर्ने एक एजेन्टलाई पनि पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुन तस्करीमा संलग्नको खोजी भइरहेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

विभागको विशेष टोलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडि भन्सार पासबाट ट्याक्सीमा ओसारपसार गर्ने क्रममा ठूलो परिमाणमा सुन बरामद गरेको हो ।

विभागले तत्कालै त्रिभुवन भन्सार कार्यालयको गेट अगाडि सुनसहित दुई जनालाई पक्राउ गरेको थियो ।

ढुंगानाका अनुसार टोलीले आज बिहान घोटालामा संलग्न थप चार जनालाई पक्राउ गरेको हो । सुन हङकङबाट ल्याएको बताइएको छ ।

नेपालमा यति ठूलो परिमाणमा पहेंलो धातु बरामद भएको यो अहिलेसम्मकै पहिलो घटना हो । “विस्तृत विवरण आउन बाँकी छ, फरारको खोजी भइरहेको छ,” उनले वताएका छन् ।

सरकारले आज नै साे भन्सारमा कार्यरत सवै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको छ ।