ढाका, एजेन्सी मंसिर १ साेमवार , बाङ्लादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनल (ICT–BD) ले भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा मृत्युदण्ड सुनाएको छ। विद्यार्थी आन्दोलन दमनका क्रममा हत्या र अत्यधिक बल प्रयोगको आदेश दिएको प्रमाणित भएपछि अदालतले सोमबार ४५३ पानामा विस्तृत फैसला सुनाएको हो।

ट्राइब्युनलका अनुसार हसिनाले २०२४ को विद्यार्थी आन्दोलनलाई रोक्न सुरक्षाबललाई ‘घातक रूपमा कारबाही’ गर्ने निर्देशन दिएको प्रमाण कल र अडियो रेकर्डमार्फत पुष्टि भएको छ। आन्दोलनकै क्रममा भएका हत्या, दमन र नियन्त्रणको अभावको जिम्मेवारी उनले वहन गर्नुपर्ने अदालतले ठहर गरेको छ।

सोही मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमानी खान कमललाई पनि मृत्युदण्ड सुनाइएको छ। पूर्व प्रहरी प्रमुखलाई भने राज्यको पक्षमा बयान दिएको कारण पाँच वर्ष कैद सजाय तोकिएको छ।

हसिना अहिले भारतमा निर्वासनमा छन्। उनी अनुपस्थितमै फैसला सुनाइएकाले उनको कानुनी टोलीले यसप्रति कडा आपत्ति जनाएको छ। परिवारले यो निर्णयलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै सर्वोच्च अदालतमा अपिल गर्ने जनाएको छ।

फैसलापछि ढाका उपत्यकामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। अदालत परिसरदेखि प्रमुख सरकारी निकायसम्म प्रहरी र सैनिक बल तैनाथ गरिएको छ। सम्भावित प्रदर्शनलाई रोक्न मोबाइल इन्टरनेटसम्म निगरानी बढाइएको छ।

निर्णयले बङ्गलादेशको राजनीतिक भविष्यमा नयाँ विवाद र अनिश्चितता थपिएको विश्लेषकहरूको मूल्यांकन छ।