प्रधानमन्त्री बालेनले उद्घाटन गर्ने एनपीएलको तेस्रो संस्करण आजदेखि
२०८३ कार्तिक १०, सोमबार ०९:३९
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम आमनेसामने
काठमाडौं, ९ कात्तिक साेमवार विराटपाटी। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको विकासमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई सफल आयोजनाका लागि शुभकामना दिएका छन्।
उद्घाटन खेलमा विजेता र उपविजेताको भिडन्त
प्रतियोगिताको पहिलो खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। खेल आज अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।
तेस्रो संस्करणमा लुम्बिनी र सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा
पछिल्ला वर्षमा नेपाली क्रिकेटप्रति बढ्दो आकर्षणका बीच आयोजना हुन लागेको एनपीएलको नयाँ संस्करणलाई खेलप्रेमीले चासोका साथ हेरेका छन्। घरेलु खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने अवसर पाउने भएकाले यसले खेलाडीको अनुभव, प्रतिस्पर्धात्मक क्षमता र क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट हुने जनाइएको छ।




