काठमाडौं मंसिर १ साेमवार, फ्लडलाइटको झिलिमिलीमध्ये इतिहासकै पहिलो रात्री खेलमा काठमाडौं गोर्खाजले एनपीएलको सुरुआत धमाकेदार जितसँग गरेको छ। जनकपुर बोल्टसले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाउँदै सहजै पार गर्‍यो।

काठमाडौंका लागि बेन चार्ल्सवर्थले ४६ रनको बलियो आधार तयार पार्दा आकाश त्रिपाठीले ३९ रन जोडेर टोलीलाई जितको नजिक पुर्‍याए। मिलिन्द कुमार (१९) र जोन सिम्पसन (१३) ले काम टुंग्याए।

बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट समाते पनि लक्ष्य रोक्न सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटमा १३० रन बनाएको थियो। आसिफ शेखले ५४ रनको आकर्षक पारी खेले भने मयन यादवले ३४ र समारकूनले २२ रन जोडे। तर बाँकी ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न असफल रहे।

काठमाडौंका बलरहरू मध्ये मिलिन्द कुमार ३ विकेटसँग चम्किए। सन्तोष यादव, साहबल आलम र करणा केसीले एक–एक विकेट लिए।

फ्लडलाइटमा पहिलोपटक खेलेको एनपीएलको उद्घाटन खेलले दर्शकलाई उत्साह र रंगीन वातावरणले भर्यो। अबको खेलहरू पनि दिन र रात दुवै समयमा जारी रहनेछन्।