काठमाडौं कार्तिक ९ साेमवार विराटपाटी। बंगालको खाडीमा विकसित भइरहेको ‘अनर्ब’ नामक चक्रवात शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात अक्टोबर २८ मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। यसको प्रभाव नेपालमा पनि पर्ने अनुमान गरिएको छ।

महाशाखाले कात्तिक १२ गतेदेखि मौसममा प्रभाव देखिन सक्ने र शुक्रबार तथा शनिबार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना औँल्याएको छ। केही स्थानमा भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीसमेत आउन सक्ने जनाइएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

१३ जिल्लाका हिमाली क्षेत्रमा रेड अलर्ट

सम्भावित भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभागसहित रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा रेड अलर्ट जारी गरेको छ।

महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य सम्भव भएसम्म कात्तिक १२ गतेभन्दा अघि नै सम्पन्न गर्न सुझाव दिएको छ। उच्च हिमाली क्षेत्रमा जाने पर्यटकलाई यात्रा स्थगित गर्न तथा त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, चिसो बढ्ने र पहिरोको जोखिम सिर्जना हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।