लन्डन, २०८२ मंसिर २, बेलायत सरकारले शरणार्थीसम्बन्धी नीतिमा व्यापक कडाइ गर्दै असाइलम भिसाबाट स्थायी आवासीय अधिकार (पीआर) पाउन लाग्ने समयावधि पाँच वर्षबाट बढाई २० वर्ष पुर्‍याएको छ।

 सोमबार संसदमा गृहमन्त्री शबाना महमुदले प्रस्तुत गरेको नयाँ नीति लागू भएपछि बेलायतमा शरणका आधारमा बस्नेहरूलाई दीर्घकालीन बसाइ सुनिश्चित गर्न निकै कठिन हुने देखिएको छ।

गृहमन्त्री महमुदका अनुसार पछिल्ला वर्षहरूमा अत्यधिक आप्रवासनका कारण बेलायतमा शरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। अवैध रूपमा देश छिर्ने घटना बढेको र शरण माग्नेहरूको संख्या चार वर्षमै ४ लाख नाघेपछि सरकारले कठोर निर्णय लिन बाध्य भएको बताइएको छ। चालु वर्षमै झन्डै ४० हजार आप्रवासी साना डुंगाबाट इंग्लिस च्यानल पार गरेर बेलायत छिरेका छन्।

शरण पाएका व्यक्तिको हैसियत अब अस्थायी हुनेछ।

प्रत्येक ३० महिनामा उनीहरूको स्टाटस पुनः समीक्षा गरिनेछ।

असाइलम भिसा अस्वीकृत भएकाहरू र गैरकानूनी रूपमा छिरेकालाई छिटो देश निकाला गरिनेछ।

शरणार्थीलाई दिइँदै आएको नि:शुल्क आवास र आर्थिक सहायता कटौती गरिनेछ।

काम गर्न पाउनेहरूले अनिवार्य रूपमा काम गर्नु पर्नेछ।

उमेर प्रमाणित गर्न एआई-सञ्चालित प्रविधि प्रयोग गरिनेछ।

संसदको चालू सत्र सकिनुअघि डिजिटल आईडी प्रणाली लागू गरिनेछ।

सरकारले डेनमार्कमा अपनाइएका कठोर उपायहरूलाई आधार बनाएर शरण व्यवस्थापन कडा बनाएको बताइन्छ। डेनमार्कमा शरणार्थीलाई दुई वर्षको अस्थायी अनुमतिपत्र दिइन्छ र म्याद सकिँदा पुनः आवेदन दिनुपर्छ।

नयाँ नीतिको प्रभाव बेलायतमा शरण मागिरहेका नेपालीमाथि पनि पर्नेसम्भावना छ।
वर्क परमिट रद्द भएकाहरू, घरेलु हिंसा तथा राजनीतिक प्रताडना भएको दाबी गर्नेहरू, अध्ययनबीचमै छाडेर बसेका विद्यार्थीहरूजस्ता नेपालीले शरण माग्ने गरेका छन्। तर नेपालीको शरण आवेदन कति छन् भन्ने आधिकारिक तथ्यांक दूतावाससँग छैन।

लन्डनका आप्रवासन सोलिसिटर राजु थापाका अनुसार नेपालीको शरण केस सफल हुने दर पहिले नै धेरै कम थियो।
“अब नयाँ व्यवस्था आएपछि नेपालीको केस झनै असहज हुन्छ,” थापाले बताए।

सरकारले फिर्ती स्वीकार नगर्ने अंगोला, नामिबिया र कंगो जस्ता देशमाथि भिसा प्रतिबन्धको चेतावनीसमेत दिएको छ।

बेलायतले सन् २०२९ सम्म शरणार्थीलाई राख्न होटल प्रयोग बन्द गर्ने लक्ष्य राखेको छ। गत वर्ष मात्र शरणार्थी आवासमा होटल प्रयोग गर्दा सरकारलाई दैनिक ५.७७ मिलियन पाउण्ड खर्च भएको तथ्यांक छ।