काठमाडौँ  मंसिर २ मंगलबार , नेपाली प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले कीर्तिमानी प्रदर्शनसहित पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ।

 मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले प्रस्तुत गरेको ठूलो लक्ष्य पछ्याउने क्रममा पोखरा १८.५ ओभरमै १६७ रनमा अलआउट भयो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनायो, जुन एनपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल हो। विराटनगरले यसअघि लुम्बिनी लायन्सले कायम गरेको १९१ रनको कीर्तिमान तोडेको हो।

विराटनगरका ओपनर लोकेश बमले ४८ बलमा सात छक्का र एक चौकासहित ७२ रन बनाउँदै पारीको आधार तयार पारे। विदेशी खेलाडी मार्टिन गप्टिलले पनि ३५ बलमा ६१ रन जोडे। यी दुईबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो, जुन एनपीएल इतिहासमै दोस्रो विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो।

अन्तिमतिर शुभम रञ्जानेले १६ बलमा ३८ रन र बसिर अहमेदले १३ बलमा २३ रनको योगदान दिए।

लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखराको सुरुवात कमजोर रह्यो। तर कप्तान कुशल भुर्तेल (५९) र एडम रोसिङ्टन (३९) ले दोस्रो विकेटका लागि ७६ रन जोड्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर, रोसिङ्टन आउट भएको क्षणबाट पोखराको पारी धराशायी बन्दै गयो।

पोखराका चार खेलाडी मात्र दोहोरो अंकमा पुग्न सके। पहिलो संस्करणमा प्रभावशाली प्रदर्शन गरेका जिम्मी निसम ‘गोल्डेन डक’ भए भने तीर्थराज दास समेत शून्यमै आउट भए।

विराटनगरका मर्चेन्ट डे लांगे, कप्तान सन्दीप लामिछाने, शुभम रञ्जाने र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए। सूर्य तामाङ र बसिर अहमेदले एक–एक विकेट हात पारे।

यसअघि आजै शुक्रबार भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। प्रतियोगिताअन्तर्गत बुधबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ।