काठमाडौं, मंसिर ४ बिहीबार ,अवैध आप्रवासीविरुद्ध अमेरिकामा कडा नीति पुनः कडाइका साथ लागू भइरहेका बेला थप ३५ नेपाली नागरिक डिपोर्ट भई काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ती व्यक्तिमध्ये अधिकांश ‘तल्लो बाटो’ हुँदै अमेरिका पुगेका थिए।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार फर्काइएका मध्ये एक जना विद्यार्थी भिसामा अमेरिका गएका थिए तर उनले कलेजको भिसा रिन्यू नगरी भिसाविपरित काम गरेको पुष्टिएकाले उनलाई डिपोर्ट गरिएको हो। अर्को एक जना भिजिट भिसामा अमेरिका पुगेका थिए तर त्यहाँ काममा संलग्न हुँदा पक्राउ परेर फिर्ता गरियो।

बाँकी ३३ जना भने विभिन्न मुलुक हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। ती व्यक्तिले तस्करहरूलाई ८० लाख रुपैयाँसम्म बुझाएको तथ्य खुलेको छ। करिब दुई वर्षपछि अमेरिकाले उनीहरूलाई नेपाल पठाएको हो।

स्रोतका अनुसार डिपोर्ट भएका धेरैजसो रुकुम र दाङ क्षेत्रका रहेको प्रारम्भिक जानकारी छ। यद्यपि, उनीहरूले कसैविरुद्ध जाहेरी दिन चाहेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेसँगै अवैध आप्रवासीविरुद्ध कडाइ गर्दै फिर्ता गर्ने अभियान सुरू गरेका थिए। त्यही कडाइका कारण हालसम्म २ सयभन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्।