काठमाण्डू पाँच विकेटले पराजित

काठमाडौ मंसिर ६ शनिबार ,नेपाल प्रिमियर लिग (एनपीएल) दो‌ोस्रो संस्करणअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

काठमाण्डूले प्रस्तुत गरेको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। विराटनगरका ओपनर जर्ज मुन्सेले १६ बलमा ३६ रन बनाउँदै पारीको सुरुवात सुदृढ गरे। मार्टिन गुप्टिलले २८, बसिर अहमदले १९, नरेन भट्टले २४ तथा लोकेश बमले १४ रन जोडे।

काठमाण्डूका साहब आलमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। कप्तान करण केसी, गेरहार्ड इरास्मस र सन्तोष यादवले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डूले २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। आदील आलम अन्सारीले २५ बलमा ४८ रनको सबैभन्दा ठूलो व्यक्तिगत योगदान दिए। सन्तोष यादवले २६ रन, ओपनर बेन चार्ल्सवर्थले ३२ रन बनाए।

काठमाण्डूले प्रारम्भमै तीन विकेट गुमाएको थियो। त्यसपछि आदील र सन्तोषबीचको साझेदारीले टोलीलाई मध्यम योगफलसम्म पुर्‍यायो। विराटनगरका मर्चेन्ट डी लाङ्गेले १७ रन खर्चेर दुई विकेट लिए भने सूर्य तामाङ, सुभम रन्जाने र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट दर्ता गरे।

यससँगै प्रतियोगितामा विराटनगरले दुई खेलबाट चार अंक जोडेको छ। काठमाण्डूले भने तीन खेलमा दुई हार र एक जितसँगै दुई अंकमै रोकिएको छ।