काठमान्डु गोर्खाजको पुनरागमन : लुम्बिनी लायन्स २२ रनले पराजित
२०८२ मंसिर ९, मंगलवार १९:४६
काठमाडौं, मंसिर ९ मंगलबार , नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्समाथि २२ रनको जित निकाल्दै प्रतियोगितामा आफ्नो पुनरागमन घोषणा गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आजको भिडन्तमा काठमान्डुले १५९ रनको सावालजवाफ गर्ने क्रममा लुम्बिनीलाई १३५ रनमै रोक्दै दोस्रो जीत दर्ता गर्यो।
चार खेलमा दुई जित हात पारेसँगै काठमान्डु ४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सशक्त सुरुआत गरेको काठमान्डुले त्यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग हार व्यहोर्नु परेको थियो। आजको जितसँगै टोलीले दबाब हटाएको छ।
पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै राम्रो शुरुआत गरेको लुम्बिनी लायन्सले भने लगातार दोस्रो हार दर्ता गरेको छ। दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित लुम्बिनी आज पनि लयमा फर्किन सकेन।
१५९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लुम्बिनी १९.१ ओभरमै १३५ रनमा समेटियो।
शेर मल्ल (२७) र दिलीप नाथ (२५) को प्रयास पनि टोलीलाई जित नजिक पुर्याउन सफल भएन।
मिलिन्द कुमार र जेरार्ड एरासमसले उत्कृष्ट प्रदर्शन गर्दै दुई–दुई विकेट लिए। कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले एक–एक विकेट थप्दै दबाब कायम राखे।




