रञ्जितको पाँच विकेट र बोपाराको तेस्रो अर्धशतकसँगै चितवनको दोस्रो जित
२०८२ मंसिर १०, बुधबार १९:५७
काठमाडौं मंसिर १० बुुधबार , नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा बलिङतर्फ रञ्जित कुमार चम्किन जबकि ब्याटिङतर्फ रोहित बोपाराले तेस्रो लगातार अर्धशतक प्रहार गर्दै टोलीलाई सशक्त प्रदर्शन दिलाए।
चितवनले राखेको १७५ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १६.५ ओभरमै १२६ रनमा समेटियो। चितवनका रञ्जितले ४ ओभरमा २१ रन खर्चिँदै पाँच विकेट हात पारे।
कमलसिंह ऐरीले दुई तथा कुशल मल्ल, सैब जैब र साहेल तान्विरले एक–एक विकेट लिए। विराटनगरका मर्चेन्ट डे लिंगले ३९, प्रतिश जिसीले ३० र साम हेजलेटले २२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको प्रतिस्पर्धी योगफल बनायो। चितवनका बोपाराले ३८ बलमा तीन चौका र चार छक्कासहित ६५ रनको आकर्षक पारी खेले।
उनले सैब जैबसँग ४९ रन र पाँचौँ विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे। जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० तथा डेविड मलानले १७ रन जोडे।
विराटनगरबाट कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिंगले दुई–दुई विकेट लिए। सन्दीपले ४ ओभरमा २४ रन खर्चिए।
यस पराजयसँगै विराटनगरले प्रतियोगितामा पहिलो हार व्यहोरेको छ। यसअघि उसले लगातार तीन खेलमा जित हात पारेको थियो। चितवनका लागि भने यो दोस्रो जित हो।




