कोशी प्रदेशमा नयाँ प्रहरी नेतृत्व : डिआइजी विनोद घिमिरेले सम्हाले जिम्मेवारी
२०८२ मंसिर ११, बिहीबार २२:०७
विराटनगर मंसिर ११ बिहीबार , कोशी प्रदेश प्रहरीले नयाँ नेतृत्व पाएको छ। नेपाल सरकार गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार सरुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले मंसिर ११ गतेदेखि कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा औपचारिक रूपमा पदभार सम्हालेका छन्।
डीआइजी घिमिरेलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेल, राजमार्ग सुरक्षातर्फका अधिकृत, कोशी प्रदेश प्रहरी गण रानी तथा सुनसरीका जिल्ला प्रहरी प्रमुखलगायतले स्वागत गरेका थिए।
पदभार ग्रहणपछि कार्यालयमा आयोजित कार्यक्रममा घिमिरेले प्रदेशभरका प्रहरी अधिकृत तथा भर्चुअलमार्फत जोडिएका जिल्ला प्रहरी प्रमुखलाई संवेदनशील परिस्थितिमा पनि अग्रपंक्तिमा उभिएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।
उनले शान्ति–सुरक्षा कायम राख्दै अपराध नियन्त्रणमा प्रहरी संगठनले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “जहाँ चुनौती देखिन्छ, त्यहीँ प्रहरीको उपस्थितिलाई जनताले भरोसाको रूपमा लिन्छन्,” भन्ने धारणा राखे।
कोशी प्रदेशमा नयाँ कमान्ड आएसँगै प्रहरी संरचनामा उत्साह थपिएको बताइन्छ।




