काठमाडौं, मंसिर ११ बिहीबार, राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले अन्ततः जितको मुहान खोलेको छ।

 साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखराले प्रतियोगितामा पहिलो दुई अंक बटुलेको हो।

सुरुआती दुई खेलमा निराशाजनक हार ब्यहोरेको पोखरा आज भने पूर्ण रूपमै फरक देखियो। खेलपछि प्रतिक्रिया दिंदै पोखराका बलर विपिन खत्रीले टिममा नयाँ उर्जा भरिएको बताए। “दुई खेलमा हारिँदा दबाब धेरै थियो,” उनले भने, “आजको जितले सबै खेलाडीको मनोबल ऊँचो बनायो।”

खत्री आजको खेलका स्टार बने—उनी एक्लैले ४ विकेट झारे। उनले बाँकी खेलहरूमा पनि सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे। “अझै चार खेल छन्, यी खेल जित्दै प्लेअफ सुरक्षित बनाउने हाम्रो लक्ष्य छ,” खत्रीले स्पष्ट गरे।

उता, तेस्रो खेलमा पनि पराजय भोगेको जनकपुर बोल्ट्स भने लक्ष्यबाट पछि हटेको छैन। कप्तान अनिल शाहले लगातारको हारले प्रभाव परेको स्वीकार गरे तर आशा भने अझै जिउँदो रहेको बताए। “चार खेल बाँकी छन्, सबै जितेर प्लेअफ पुग्ने लक्ष्य यथावत् छ,” शाहले भने।

एनपिएलको समूह चरण अब झनै रोचक बन्दै गएको छ, जहाँ प्रत्येक खेल प्लेअफ यात्रा निर्धारण गर्ने निर्णायक मोडमा पुग्दैछ।