कोशीमा एमाले महाधिवेशन प्रतिनिधि छनोट : ओली–पोखरेल शक्ति परीक्षण चर्किंदै, केही जिल्लामा तनाव
२०८२ मंसिर १२, शुक्रबार १५:२२
विराटनगर मंसिर १२ शुक्रबार ,नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेश प्रतिनिधि छनोट प्रक्रियाले पार्टीभित्र शक्ति–सन्तुलनको वास्तविक नक्सा कोर्ने संकेत देखाएको छ। अधिकांश जिल्लामा सहमतिको वातावरण कमजोर देखिँदै जाँदा निर्वाचनको तयारी तीव्र बन्दै गएको छ।
सोलुखुम्बु बाहेक कोशीका सबै जिल्लामा यसपटक प्रतिनिधि छनोट निर्वाचनमार्फत गर्नुपरेको छ। सोलुखुम्बुमा खुला, महिला, उत्पीडित तथा युवा—सबै कोटामा सर्वसम्मत चयन भए पनि अन्य १३ जिल्लामा भने प्रतिस्पर्धा रोकिएन।
कोशी प्रदेश एमालेले मंसिर १३ गते नै सबै जिल्लामा निर्वाचन गराउने तयारी गरेको छ। यसैक्रममा मोरङ र झापा दुवै जिल्लामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पदका संभावित दावेदार ईश्वर पोखरेल (विद्यादेवी भण्डारी समूह) बीच बलियो प्रतिस्पर्धा देखिएको छ।
अध्यक्ष भण्डारी पक्षीय अजम्बर राई नेतृत्व रहेको मोरङमा ४६ सिटको लागि १४५ उम्मेदवारी दर्ता भएको छ। खुला २१, महिला १५, दलित ३ र युवा ७ कोटामा कडा भिडन्त अपेक्षित छ।
उता झापा र उदयपुरमा पनि पोखरेल–भण्डारी समूह सक्रिय देखिएको छ, जबकि स्थायी कमिटी सदस्य शेरधन राई, हिक्मत कार्की तथा गुरु बरालले ओली पक्षलाई सुदृढ बनाउन दौडधूप बढाएका छन्।
धनकुटामा मात्र दुई छुट्टै प्यानल खुलेका छन्—राजेन्द्र राई समूह र इन्द्रमणि पराजुली समूह। पराजुली समूह पोखरेललाई खुलेर समर्थन गर्ने सम्भावना बढेको बताइएको छ। इलाम, तेह्रथुम र उदयपुरमा पनि पोखरेल पक्ष हावी हुने आकलन छ।
यदि सबै जिल्लामा मतदान भयो भने गाउँ–गाउँका संगठित सदस्यलाई सदरमुकाम बोलाउनुपर्ने भएकाले निर्वाचन खर्चिलो हुने अनुमान छ। प्रतिनिधि छनोटकै नतिजाले आगामी महाधिवेशनमा ओली र पोखरेल दुवैको भविष्य प्रस्ट पार्ने बुझाइ नेताहरूको छ।
धरानमा प्रतिनिधि छनोट तयारी बैठककै बीच वादविवाद कुटाकुटमा परिणत भएपछि माहोल तनाबपूर्ण बन्यो।
नगर पार्टी कार्यालयमा युवा प्रतिनिधि छनोटबारे छलफल भइरहेका बेला उठेको मतभेदले झडपको रूप लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
ईश्वर पोखरेल समूहका अनिल राजधामीलाई नेपाल बैंक छाता चोकतर्फ तानेर कुटिएको घटनाले जिल्ला नेतृत्व स्तब्ध बनेको छ।
राजधामीले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट युवा कोटामा उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता नलिएपछि संस्थापन पक्षले दबाब बढाएको आरोप छ।
कोशी प्रदेशका अधिकांश जिल्लामा प्रतिनिधि छनोट ‘साधारण प्रक्रिया’ होइन, नेतृत्वको भविष्य कोर्ने स्ट्रेस–टेस्ट बन्न थालेको छ। सहमतिका प्रयास सफल नभएपछि निर्वाचन नै अन्तिम उपाय बनेको छ।
यसैबीच, धरानको झडपजस्ता घटनाले आन्तरिक तनाव सतहमा आएको देखाउँछ, जसको प्रत्यक्ष प्रभाव महाधिवेशनमै पर्ने देखिन्छ।




