भारतमा राजनीतिक ताप: नेपालको नयाँ सय रुपैयाँ नोटमै ‘दाबी विवाद’ भन्दै काग्रेस आइ आक्रोशित
२०८२ मंसिर १३, शनिबार १८:२१
काठमाडौं मंसिर १३ शनिबार , नेपालले अद्यावधिक नक्सासहित जारी गरेको नयाँ १०० रुपैयाँको नोट भारतमा राजनीतिक बहसको केन्द्र बनेको छ। नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको आधिकारिक नक्सा छापिएको भन्दै भारतीय विपक्षी दल इन्डियन नेशनल कंग्रेसले कडा विरोध जनाएको छ।
कंग्रेसले सार्वजनिक रूपमा भारतको “धेरै भूभागलाई नेपालले आफ्नो दाबी गरेको” आरोप लगाउँदै “यसलाई स्वीकार्न नसकिने कदम” भनेर टिप्पणी गरेको छ।
नेपाल राष्ट्र बैंकले भने यसमा कुनै नयाँ दाबी नभएको स्पष्ट पारेको छ। बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार २०७७ जेठ ५ गते राजपत्रमा प्रकाशित सरकारी निर्णयअनुसार नै नोटमा नक्सा अद्यावधिक गरिएको हो।
पहिलोपटक नक्सा राखिएको हो भन्ने भारतीय पक्षको टिप्पणी असत्य भएको राष्ट्र बैंकको भनाइ छ। प्रवक्ताका अनुसार, “सय रुपैयाँको नोटमा पनि यो नयाँ होइन, सरकारको निर्णयअनुसार अद्यावधिक मात्र गरिएको हो।”
नेपालले अद्यावधिक नक्सा विगत पाँच वर्षयता निशान छाप, सरकारी दस्तावेज र विद्यालयको शिक्षण सामग्रीमा समेत प्रयोग गर्दै आएको छ।
नयाँ नोट चलनचल्तीमा आएसँगै भारत तातेपनि, नेपालले भने यो विषयलाई सरकारी नीतिको निरन्तरता मात्र भएको भन्दै संवैधानिक अधिकारभित्रको प्रक्रिया ठहर गरेको छ।




