काठमाडौं, मंसिर १४ आइतबार ,कर्णाली याक्समाथि पाँच विकेटको सहज जितसँगै काठमाण्डू गोर्खाजले एनपीएलको प्लेअफ यात्रा निकै मजबुत बनाएको छ। चार जितसहित काठमाण्डू अब अन्तिम चरणमा प्रवेश गर्ने प्रमुख दावेदार बनेको छ।

काठमाण्डूले जनकपुरविरुद्धको उद्घाटन जितपछि लगातार दुई खेल गुमाएको थियो। तर लुम्बिनी र चितवनलाई हराउँदै टोलीले पुनः राम्रो लय समात्यो। आइतबार कर्णालीले राखेको १५० रनको लक्ष्य काठमाण्डूले १८ ओभरमै पाँच विकेट गुमाएर भेट्टायो।

जितमा गेरहार्ड इरास्मस स्टार बने—अविजित ४३ रन। उनको जोन सिम्पसनसँगको ८६ रनको साझेदारीले खेलको दिशा नै मोडिदियो। सिम्पसनले २१ बलमा ४१ रन थपे भने ओपनर बेन चाल्सवर्थले ३४ रनको द्रुत योगदान दिए।

कर्णालीका नन्दन यादवले तीन विकेट लिए पनि काठमाण्डूको ब्याटिङ रोकिन सकेन।

कर्णालीले २० ओभरमा १४९ रन बनाए पनि त्यो ‘फाइटिङ स्कोर’ पर्याप्त हुन सकेन।
अलराउन्डर गुल्सनकुमार झाले २२ बलमा ४९ रन प्रहार गर्दै टोलीलाई उकासे। पवन सर्राफ (३५), मार्क वाट (३०) र दीपक डुम्रे (१०) ले सानो–ठूलो योगदान दिए।

तर लगातार चौथो हारपछि कर्णालीको प्लेअफ आशा जटिल बन्दै गएको छ।

काठमाण्डूका राशिद खान, मिलिन्द कुमार र सन्तोष यादवले उत्कृष्ट बलिङ गरेर कर्णालीलाई साधारण स्कोरमै रोके।