कर्णाली ३४ रनले पराजित, प्रतियोगिताबाट बाहिरिने पहिलो टिम

काठमाडौ मंसिर १६ मंगलबार ,एनपीएलको प्रतिस्पर्धात्मक माहोलमा पोखरा एभेन्जर्सले मंगलबार कर्णाली याक्सलाई ३४ रनले हराउँदै प्लेअफ दौडमा आफूलाई जोगाइराखेको छ। एडम रोसिङटनको विस्फोटक शतक पोखराको जितको केन्द्रमा रह्यो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा २ विकेट गुमाएर २०१ रनको ठूलो स्कोर बनायो। लगातार राम्रो फर्ममा रहेका रोसिङटनले ५८ बलमा अविजित १०८ रन प्रहार गर्दै ११ चौका र ७ छक्का जडान गरे। कप्तान कुशल भुर्तेलसँग ३४ रनको सुरुआती साझेदारीपछि उनले जेसन रोयसँग १२७ रनको शतकीय साझेदारी गरे। रोयले डेब्यु खेलमै ४६ रन जोडे।

२०२ रनको लक्ष्य पछ्याउन उत्रिएको कर्णाली १९ ओभरमै १६७ रनमा समेटियो। ओपनर मार्क वाटले ५९ रन बनाए पनि अन्य ब्याटरबाट सहयोग नपाएपछि टोली क्रमशः ढल्दै गयो। पाँच खेलमै पाँच हार बेहोरेको कर्णाली यस सिजन प्लेअफबाट बाहिरिने पहिलो टोली बन्यो।

बलिङतर्फ पोखराका धनन्जय लक्षन र ऋषी धवनले समान ३–३ विकेट लिए।
पाँच खेलमा दोस्रो जित निकाल्दै पोखराले अंकतालिकामा ४ अंक जोडेको छ र अन्तिम खेलपछि प्लेअफ तस्वीर अझ प्रस्टिनेछ।