काठमाडौं मंसिर १९ शुक्रबार , आयोजनाबाट प्रभावित स्थानीयका लागि सोलु हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिन राजधानीमा उल्लेखनीय भीड लागेको छ। मंसिर ७ गतेदेखि आवेदन संकलन सुरु भएसँगै काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा सोलुखुम्बु क्षेत्रका बासिन्दाको लाइन निरन्तर बढ्दै गएको छ।

कम्पनीले स्थानीयका लागि छुट्टाएको आईपीओ मंसिर ७ देखि २१ गतेसम्म खुला रहनेछ। आवश्यक आवेदन परेन भने अवधि थप्न सकिने कम्पनीले जनाएको छ। आवेदनको समय गइरहँदा लाइन दिनप्रतिदिन बढ्दै गएको छ।

सोलु हाइड्रोपावरको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ। सो मध्ये २० प्रतिशत अर्थात् २ करोड कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
यसमध्ये १० प्रतिशत (१ करोड कित्ता) आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयका लागि तथा बाँकी १० प्रतिशत (१ करोड कित्ता) सर्वसाधारणमा निष्कासन गरिनेछ।

आवेदन पेश गर्न आउनेहरूको भीड, फारम हातमा लिएर पालो पर्खिरहने दृश्य र नक्साल क्षेत्रमा दिनभर देखिएको लाइनले राजधानीमा सोलु हाइड्रोको आईपीओप्रति देखिएको उत्साहलाई स्पष्ट रूपमा चित्रण गरेको देखिन्छ।