हेटौंडा मंसिर २१आइतबार ,हेटौंडाको सडक विस्तार अभियानले दुई दिनमै ५३१ संरचना पूर्णरूपमा ढालेपछि मात्र सर्वोच्च अदालतको रोक आदेश डिभिजन कार्यालयमा पुगेको छ। अतिक्रमण हटाउने १५ दिने सूचना जारी भएको मंसिर ५ पछि स्थानीयले अदालतमा रिट दर्ता गरे पनि आदेश कार्यान्वयन रोकिनु भन्दा अघि नै डोजरको परिचालन भइसकेको थियो।

सर्वोच्चले शुक्रबार “सूचना कार्यान्वयन नगर्नू, स्थिति यथावत राख्नू” भन्दै अन्तरिम आदेश दिएको थियो। तर शनिबार बिहानै सडक डिभिजनले एकैपटक डोजर लगाएर बजार क्षेत्रमा रहेका घरटहरा हटाइदियो।
स्थानीय व्यापारी, घरधनी र सर्वसाधारणले कडा विरोध व्यक्त गरे पनि संघीय सरकारको सक्रियतामा भत्काउने काम रोकिएन

आदेश आइपुग्यो, काम रोकियो

आदेश आइतबार दिउँसो १२:४६ बजे आधिकारिक रूपमा डिभिजन कार्यालयमा पुगेपछि बाँकी विस्तार कारबाही तत्काल स्थगित गरिएको डिभिजनले जनाएको छ।
मंसिर ५ मा गोरखापत्रमा प्रकाशित सूचनामा २५–२५ गजभित्र परेका संरचना हटाउन आग्रह गरिएको थियो। त्यसकै आधारमा शनिबार बिहान सडक विस्तारको डोजर चलाइएको थियो।

डिभिजनले अबको कारबाही पूर्ण कानुनी प्रक्रियाअनुसार मात्रै अघि बढाइने र हालका सबै गतिविधि स्थगित भएको सार्वजनिक जानकारी गराएको छ। साथै अभियानमा साथ दिएका स्थानीय, व्यवसायी, सञ्चारकर्मी तथा अन्य पक्षप्रति धन्यवाद ज्ञापन गर्दै आदेशअनुसार थप कदम चालिने बताइएको छ।