विराटनगर, मंसिर २१ आइतबार ,माेरङकाे लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणले मोरङ मात्र होइन, समग्र देशलाई स्तब्ध बनाएको छ। १७ दिनसम्म बेपत्ता रहिरहेकी अंशुको शव जंगल क्षेत्रमा भेटिएपछि सुरु भएको अनुसन्धानले अन्ततः घटनाका मुख्य अभियुक्तका रूपमा ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरिएको प्रहरीले आज सार्वजनिक गरेको छ

प्रहरीका अनुसार अंशु बेपत्ता भएको दिन आरोपित पदमबहादुरले बालिकालाई विभिन्न प्रलोभनमा पारेर जंगलतर्फ लगेका थिए। अनुसन्धानक्रममा उनले हत्या गरेको स्वीकारोक्ति दिएको प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिए।

घटनापछि आरोपित स्वयं परिवारसँगै खोज्न सहभागी बनेको तथ्य प्रहरीले उजागर गरेको छ। गाउँभरी खोजतलास भइरहँदा उनले आफू पनि चिन्तित नागरिककै रूपमा प्रस्तुत भएकोप्रति प्रहरीले टिप्पणी गरेको छ। अनुसन्धानसँगै, छोरा जेलबाट छुटेको भोलिपल्ट उनै अभियुक्त भारततर्फ पलायन भएपछि प्रहरीको शंका बलियो बनेको थियो।

प्रहरीले ‘अपरेसन जग’ नामक विशेष अनुसन्धान मार्फत सीमा क्षेत्र हुँदै भारतको मेघालयसम्म निगरानी बढाएको थियो। अन्ततः मानसिक दबाब र प्रहरीको रणनीतिका कारण उनी नेपाल फर्किए र पक्राउ परे।

यस घटनापछि अंशुको परिवार गहिरो शोकमा रहेको छ। परिवारले “पूर्ण न्याय नआएसम्म शव नबुझ्ने” निर्णय लिएको छ। हाल बालिकाको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ।

मुलुकी अपराध संहिताअनुसार, अभियुक्तलाई ‘जबरजस्ती करणीको प्रयास’ र ‘हत्या’ दुबै अभियोगमा दोषी ठहर भएमा आजीवन कारावाससम्मको सजाय हुनसक्ने प्रहरीको भनाइ छ।

अंशुको मृत्युले बालबालिकाको सुरक्षा, समुदायिक सचेतना र अपराध रोकथामका उपायबारे फेरि प्रश्न उठाएको छ। स्थानीयस्तरदेखि केन्द्रसम्म न्यायको माग तीव्र भइरहेको छ।
“हाम्रो छोरी मात्र होइन, यो समाजका सबै छोरीहरूको सुरक्षा सुनिश्चित गरियोस्,” अंशुको आमा-बुबाको भनाइ छ।
उनीहरूको घरमा अझै पनि छोरी फर्किने आशाको ढोका खुलै छ, यद्यपि फर्किने अब न्याय मात्र हो।
सम्पूर्ण समुदाय शान्तिसाथ न्यायको प्रतिक्षामा छ।