किसानको थामिएको मेहनतको मूल्य : करिब ४ अर्बको दूध भुक्तानी
२०८२ मंसिर २३, मंगलवार १२:३२
काठमाडौं, मंसिर २३, मंगलबार,दूध उत्पादन गरेर महिनौँदेखि भुक्तानी पर्खिरहेका किसानहरू अन्ततः राहतको सास फेर्न सक्षम भएका छन् । दुग्ध क्षेत्रको लामो रोकिएको कारोबार खुल्दै जाँदा करिब चार अर्ब रुपैयाँ किसानको हातमा पुगेको छ।
दुग्ध विकास संस्थान (डिडिसी) ले मात्रै १ अर्ब रुपैयाँ निकासा गरेको छ भने निजी डेरीहरूले करिब ३ अर्ब बराबरको देय भुक्तानी पूरा गरेका छन्। डेरी उद्योगहरूले गोदाममा थुप्रिएको धुलो दूध र बटरको स्टक बिक्री गरी रोकिएको रकम तिरेपछि किसानको बक्यौता राहतपूर्वक समाधानमा पुगेको अधिकारीहरूको भनाइ छ।
डिडिसीले अझै तीन महिनामा करिब ४५ करोड रुपैयाँ तिर्न बाँकी रहेको स्पष्ट पारेको छ। निजी डेरीतर्फ भने अधिकांश रकम चुक्ता भइसकेको उद्योग संघको दाबी छ।
कृषि मन्त्रालयले हाल मुलुकमा दूध उत्पादन सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको जनाएको छ। यो भुक्तानीसँगै लामो समयदेखि आन्दोलनमा उत्रिएका किसानको मनोबल पुनः उकासिएको देखिएको छ।




