पाल्पा मंसिर २३ मंगलबार , भारतीय गृहमन्त्री अमित शाहका पूर्व स्वकीय सचिवका रूपमा पहिचान बनाएका सन्दीप राना नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका छन्। दिल्ली राजनीतिक शक्तिशाली सर्कलसँगको सीधा पहुँच र भारतीय सत्ता तहसँगको निकटताका कारण राना पार्टी नेतृत्वको प्राथमिकतामा उभिएको टिप्पणी नेताहरूको छ।

छ वर्षअघि मात्र स्थायी रूपमा नेपाल फर्किए पनि रानाले दिल्ली बसाइका क्रममा भारतीय जनता पार्टी (BJP) शीर्ष नेतृत्वसँग विशेष सम्बन्ध कायम गरेका थिए। कांग्रेसका शीर्ष नेता भारत जाँदा उच्चस्तरीय भेटघाट मिलाउने मुख्य व्यक्ति रानाकै मार्फत हुने भएकाले उनले पार्टीभित्र ‘दिल्ली च्यानल’ को बलियो परिचय बनाएका छन्।

यही राजनीतिक पहुँचले पाल्पामा उम्मेदवार सिफारिसको निर्णयलाई चर्को बहसको केन्द्रमा पुर्‍याएको देखिन्छ। पाल्पाका स्थानीय नेताहरूको आरोप छ— अमित्त शाहका पूर्व स्वकीय सचिव भनेर पहिचान बनाइएका कारण उनलाई पार्टी नेतृत्वले सहजै अघि बढायो, तर स्थानीय संरचना र कार्यकर्तासँग उनको सम्बन्ध कमजोर छ।”

यद्यपि क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा बसेको बैठकले जिल्ला, पालिका र अन्य पदाधिकारीहरूको उपस्थिति बीच रानाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
राना हाल लुम्बिनी प्रदेशसभा सदस्य, कांग्रेस महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत छन्।

अब काठमाडौंको टुंगोपछि टिकट औपचारिक रूपले उनीतर्फ नै जाने लगभग निश्चित ठानिँदैछ, तर अमित शाहसँगको छायाँ र दिल्ली प्रभावको परिचर्चाले पाल्पा कांग्रेसभित्र असन्तोष अझ चर्किने संकेत देखिएको छ।