नेशनल जियोग्राफिकले मिथिला थालीलाई दक्षिण एसियाको उत्कृष्ट परिकारको सूचिमा
२०८२ मंसिर २५, बिहीबार ११:११
काठमाडौं मंसिर २५ बिहीबार ,नेपालको स्थानीय स्वाद, परम्परा र पहिचान समेटिएको ‘मिथिला थाली’ अब दक्षिण एसियाकै उत्कृष्ट परिकारमध्ये एकको रूपमा विश्वले चिनेको छ। प्रतिष्ठित नेशनल जियोग्राफिक म्यागजिनले सेफ सन्तोष शाहद्वारा परिकल्पित यो थालीलाई आफ्नो विशेष सूचीमा समावेश गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय चर्चा थप उचाइमा पुर्याएको छ।
रिपोर्टका अनुसार मिथिला थालीको सफलता यसको स्थानीय सामग्री, मिथिला शैलीको शुद्ध पकाउने तरिका र आधुनिक प्रस्तुतीकरणको अद्भुत मिश्रणमा छ। जनकपुरको सम्पूर्ण सांस्कृतिक चालचलन बोकेको यो थाली दैनिक पाँच सयभन्दा बढी ग्राहकले रुचाइरहेका छन्।
सेफ सन्तोषले प्रतिक्रिया दिँदै भनेका छन्—
“मिथिलाको माटो, नेपालको स्वाद विश्वले चिनेको देख्दा यो मेरा लागि सम्मान मात्र होइन, थप सिर्जनशील बन्ने प्रेरणा पनि हो।”
नेशनल जियोग्राफिकले जनकपुरलाई सांस्कृतिक र पाक–परम्पराले धनी शहरका रूपमा उल्लेख गर्दै जानकी मन्दिर, मिथिला कला र स्थानीय स्वादको प्रशंसा गरेको छ। यसअघि Lonely Planet ले पनि जनकपुरलाई दक्षिण एसियामा तीव्र गतिमा उभिँदै गएको सांस्कृतिक–खाद्य पर्यटन गन्तव्यको रूपमा सूचीबद्ध गरिसकेको थियो।
हाल सेफ सन्तोषले ‘Mithila Thali by Santosh Shah’ नाममा झम्सिखेल, नक्साल र गौशालामा शाखा सञ्चालन गरिरहेका छन्। जनकपुर फिस हाउस मार्फत मिथिलाको प्रसिद्ध माछाका परिकारलाई व्यावसायिक रूपमा विस्तार गरिरहेका उनी अब वीरगञ्जमा नयाँ शाखा खोल्न तयारीरत छन्।
विशेषज्ञहरूका अनुसार, मिथिला थालीको अन्तर्राष्ट्रिय मान्यता र नेपालको उदीयमान पाक–पहिचानले स्थानीय परिकारलाई अब वास्तवमै विश्वकै खाद्य नक्सामा उभ्याइदिएको छ।




