मोरङमा दूध बोकेर निस्किएका वृद्धको ज्यान गयो

मोरङ, मंसिर २७ शनिबार — सुन्दरहरैचा नगरपालिकाको बिराटचोक क्षेत्रमा शनिबार बिहान जङ्गली हात्तीको आतंकले एक वृद्धको ज्यान लिएको छ।

सुन्दरहरैचा–१२ निवासी ६० वर्षीय भवकृष्ण घिमिरे बिहान साढे ६ बजेतिर दूध बिक्री गर्न घरबाट निस्कँदै गर्दा बस्तीको बीचमै हात्तीको आक्रमणमा परेका थिए। 

प्रत्यक्षदर्शीका अनुसार एक्कासि बस्तीभित्र पसेको हात्तीले घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले जङ्गलबाट निस्किएको हात्तीले आक्रमण गरेको पुष्टि गर्दै घटनापछि स्थानीयवासी त्रसित बनेको बताए।

घटनापछि क्षेत्रका बासिन्दाले जङ्गली जनावरको बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै वन क्षेत्र नजिकका बस्तीमा सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरेका छन्।