चीनमा शिशु जन्मदर बढाउन कन्डोम लगायतका गर्भनिरोधक उत्पादनहरूमा भ्याट लगाइयो
२०८२ मंसिर २८, आईतवार १२:१२
काठमाडौँ मंसिर २८ आइतबार ,चीनमा शिशु जन्मदर बढाउन तीस वर्षपछि कन्डोमलगायतका गर्भनिरोधक उत्पादनहरूमा भ्याट लगाइएको छ ।चीनले एक शिशुको नीतिलाई हटाएपनि शिशु जन्मदरमा वृद्धि नभएको देखेपछि कन्डोमलगायतका गर्भनिरोधक उत्पादनहरू माथि १३ प्रतिशत भ्याट लगाउने भएको हो ।सन् २०२६ जनवरी १ देखि गर्भनिरोधक औषधि र उत्पादहरुमा १३ प्रतिशत भ्याट लागू गरिने चीनको नयाँ कर कानुनले प्रष्ट पारेको छ ।
दशकौँ यता एक दम्पत्ति एक सन्तानको नीति लागू गरिएपनि चीनमा शिशु जन्मदर लगातार घट्दै गएको देखिएको छ । चीनको सरकारले दम्पत्तिलाई धेरै शिशु जन्माउन प्रोत्साहन गर्ने नीति ल्याएको छ ।
सन् २०२४ मा चीनमा ९५ लाख मात्र बच्चा जन्मिएको छ । सन् २०१९ को तुलनामा एक तिहाईले कम हो । मृत्यु दर जन्मदर भन्दा बढेपछि २०२३ मा भारतले चीनलाई जनसंख्यामा पछि पारेको थियो।
एक दम्पत्ति एक सन्तानको नीतिलाई कार्यान्वयनका लागि भारी जरिवाना र कहिलेकाहीँ जबरजस्ती गर्भपतनसम्मको कडा कदम अपनाएको चीन अहिले त्यो नीतिको विपरीतको बाटो अपनाइरहेको छ ।
यो नीतिको कतिपयले आलोचना पनि गरिरहेको अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ । कन्डम महँगो हुँदा बिना योजना गर्भ रहन सक्ने जोखिम बढ्ने , लैंगिक रोग फैलिने सम्भावना धेरै बढ्न सक्ने र गर्भपतन दर अझै बढ्ने आशंका व्यक्त गरिएको छ ।
चीनमा वार्षिक ९०लाख देखि १करोडसम्मको गर्भपतन हुने गरेको एक अनुमान छ । वास्तविक संख्या अझै बढी भएको हुन सक्ने विशेषज्ञहरुको दाबी छ।




