गज रोनाल्डो बाच्छा हात्तीलाई प्लेनवाट कतार पठाए
२०८२ पुष २, बुधबार २०:२०
भैरहवा पुस २ बुधबार , नेपाल–कतार कूटनीतिक मित्रताको प्रतीकका रूपमा उपहार दिइएका दुई हात्ती—भाले खगेन्द्रप्रसाद र पोथी रुद्रकली—बुधबार कतारतर्फ उडेका छन्। कतार एयरवेजको बोइङ ७७७ एफ फ्रेटर विमानमार्फत उनीहरू दिउँसो ५ बजेपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन्।
मौसमको प्रतिकूलताका कारण विमान बिहान भारतको कोलकाता डाइभर्ट भए पनि अवस्था सहज बनेपछि भैरहवाबाट उडान सम्भव भएको थियो। चितवनबाट मंगलबार नै भैरहवा ल्याइएका हात्तीहरूसँगै एक पशु प्राविधिक र दुवै हात्तीका माउते पनि कतार गएका छन्।
उनीहरूले त्यहाँ केही समय बसेर हात्तीको स्याहारसुसार गर्नुका साथै स्थानीय जनशक्तिलाई तालिम दिनेछन्।
छ वर्षका खगेन्द्रप्रसाद र सात वर्षकी रुद्रकली चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको खोरसरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा हुर्किएका हुन्। खगेन्द्रप्रसाद कोशीकलीका सन्तान हुन् भने रुद्रकली पूजाकलीबाट जन्मिएकी हुन्। दुवैका बाबु जंगली हात्ती ‘रोनाल्डो’ हुन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाखमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। यसअघि पनि नेपालले कूटनीतिक सम्बन्ध सुदृढ गर्न मित्रराष्ट्रलाई वन्यजन्तु उपहार दिँदै आएको छ।




