विराटनगर पुस १२ शनिबार , नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ समितिले अगुवा स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा वनभोजसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

प्रदेश, नगर र गाउँ समिति समेतको आयोजनामा शनिबार हसिना सिमसारमा सम्पन्न कार्यक्रममा पार्टीको आगामी महाधिवेशन, संगठनलाई थप चलायमान बनाउने रणनीति तथा भावी दिनमा पार्टीलाई कसरी प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले आ–आफ्ना धारणा राख्दै आन्तरिक एकता, संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा जोड दिएका थिए।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, क्षेत्रीय सभापति देवराज तामाङ, सुन्दरहरैचा नगर सभापति भक्ति सिटौला, प्रदेश सभापति दीपक भगतलगायत सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको क्षेत्रीय सचिव जितेन्द्र गोल्छाले जानकारी दिए।