काठमाडौं विराटपाटी पुस १३ आइतबार ,टोखाबाट बरामद २५ करोडभन्दा बढी नगद प्रकरणमा फरार रहेर पछि धरौटीमा छुटेका नारायण पौडेलविरुद्ध अन्ततः सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पौडेल र ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो। जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार मुद्दा दायर गरेका हुन्।

गत ४ चैतमा टोखास्थित झोरबाट चीनको केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्बरको ट्रकबाट ठूलो परिमाणको नगद बरामद भएको थियो। उक्त ट्रकका चालक लामालाई रकमसहित पक्राउ गरिए पनि रकमका मालिक भनिएका पौडेल भने लामो समय फरार थिए।

पछि पौडेल अचानक अदालतमा उपस्थित भई ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्माको ३२ असारको आदेशपछि उनी रिहा भएका हुन्। पौडेलको यसरी “सुटुक्क” उपस्थित भई छुट्नुले घटनालाई झनै रहस्यमय बनाएको थियो।

तर भरिया भनिएका चालक कुसाङ लामालाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ३ वैशाखमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

अनुसन्धानका क्रममा पौडेलकै संलग्नतामा नगद ट्रकमा राखिएको सीसी क्यामेरा फुटेज समेत फेला परेको छ। साँझ साढे ६ बजेतिर पौडेलले रकम ट्रकमा राखेको दृश्य फुटेजमा देखिएको बताइएको छ।

अब उच्च रकमको यो प्रकरण अदालतको कठघरामा पुगेसँगै पौडेलको भूमिकाबारे थप कानुनी छिनोफानो हुने अपेक्षा गरिएको छ।