विराटनगर पुस १४ साेमबार,मोरङमा लागुऔषध तस्करीविरुद्ध प्रहरीले कडा अपरेसन चलाएको छ। लगातार दोस्रो रात प्रहरीले हवाई फायर गर्दै ठूलो परिमाणको गाँजा बरामद गरेको हो।

आइतबार राति करिब ११ः३० बजे केराबारी गाउँपालिका–५ लाफा टोलमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालित भयो। धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोक्न खोज्दा चालक र सवार व्यक्ति भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ।

हवाई फायरपछि एम्बुलेन्स चालक निश्चल राई र सवार खगेन्द्र लिम्बू पक्राउ परेका छन्। एम्बुलेन्सबाट करिब ४८० किलो गाँजा बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

यसअघि शनिबार राति पनि जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले हवाई फायर गर्दै ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

लगातार दुई रात ठूलो परिमाणमा गाँजा बरामद भएपछि मोरङमा लागुऔषध तस्करीविरुद्ध सुरक्षा निकायको निगरानी झन् कडा बनाइएको छ। विशेषगरी सीमा क्षेत्र र एम्बुलेन्सजस्ता सवारी साधन प्रयोग हुने तस्करीमाथि प्रहरीको ध्यान केन्द्रित भएको छ।