शीतलहर पीडित ज्येष्ठ नागरिकलाई प्रहरी महानिरीक्षकद्वारा न्यानो कपडा वितरण
२०८२ पुष १६, बुधबार २१:२०
मोरङ, बुढीगंगा — पुस १६, तराई क्षेत्रमा फैलिएको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बुढीगंगा गाउँपालिकाभित्रका एक सय जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ।
शीतलहरबाट बढी प्रभावित ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा महिलालाई न्यानो मायाको कोसेलीस्वरूप कम्बल, ज्याकेट तथा अन्य न्यानो कपडा प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले शीतलहरजस्ता प्राकृतिक विपत्तिमा राज्यका निकाय जनताको साथमा उभिनु आफ्नो कर्तव्य भएको बताउनुभयो।
कार्यक्रमका क्रममा बुढीगंगा गाउँपालिकाको तर्फबाट प्रहरी महानिरीक्षक कार्कीलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो।
उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्ले, युवा अभियानकर्मी दर्शनराज न्यौपाने, वडा सदस्य लोकनाथ चौधरी, मिना विश्वास, प्रदेश सचिव विष्णुराज बुढाथोकीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले शीतलहरको कठिन समयमा राज्यको उच्च तहबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।
शीतलहरको मार खेपिरहेका तराईवासीका लागि नेपाल प्रहरीको यो मानवीय पहल प्रेरणादायी बनेको छ।





