विराटनगर पुस १७, कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ। गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविहीन सुशासन असम्भव हुने स्पष्ट पारेका छन्।

उनले चेतावनीपूर्ण शैलीमा भने, “निर्वाचन रोकिनु भनेको देशलाई अस्थिरताको दिशातर्फ धकेल्नु हो। लोकतन्त्रलाई जोगाउन र सुशासन स्थापित गर्न निर्वाचनको कुनै विकल्प छैन।”

फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे बोल्दै गृहमन्त्री अर्यालले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको दाबी गरे। सरकार कुनै पनि हालतमा निर्वाचन सम्पन्न गराउने दृढ अडानमा रहेको उनको भनाइ थियो।

सुरक्षा गोष्ठीमा प्रदेशभरका सुरक्षा निकाय, प्रशासन प्रमुख तथा सम्बन्धित निकायबीच निर्वाचन केन्द्रित सुरक्षा रणनीति, चुनौती र आवश्यक समन्वयबारे गम्भीर छलफल सुरु भएको छ।